मस्कटस्थित नेपाली दूतावासको कर्मचारी देख्ने बितिकै बचाई दिनु भन्दै रुनु थालिन सीता

मस्कटस्थित नेपाली दूतावास गेटमा सोमबार बिहान एक महिला उत्रिइन् । नेपाली कर्मचारीलाई देख्नासाथ डाँको छोडेर रोइन् । उनको अनुहारभरि नीला दागैदाग थिए । जिउ थरथर काँपिरहेको थियो । बोली प्रस्ट थिएन । निकै बेरसम्म ‘दुबई’ र ‘ओमन’ बाहेक केही भन्नै सकिनन् । उनी रहिछन् जर्बुटा १, सुर्खेतकी सीता डगौरा थारू । दलालले सिलाइ-कटाइको काममा भनेर खाडीमा ल्याई घरेलु कामदार बनाइएकी उनले ‘मालिक’ को असह्य यातना भोगिन् । कालको मुखबाट भाग्दै-भाग्दै जसोतसो यहाँसम्म आइपुगिन् । सीता सुर्खेतमा सिलाइ-कटाइ व्यवसाय गर्थिन् । ‘पल्लो गाउँकी दिलसरा सापकोटा दिनैपिच्छे आउन थालिन् । यस्तो दुःख कति गछ्र्यौ, दुबई जाऊ टन्न पैसा कमिन्छ भनेर फकाइन् । दुई महिनासम्म बिहान-बेलुकै आइरहिन्,’ सीताले विदेश यात्राको पहिलो चरण सुनाइन्, ‘केही दिनपछि तुलसी गौतमलाई लिएर पुगिछन् ।’ आफ्नो घर पूर्वतिर बताउने तुलसीको सुर्खेतमा पनि डेरा रहेछ । काठमाडौंबाट मान्छे लिन आउजाउ गर्दारहेछन् । सीताका अनुसार तुलसीले ‘टेलरिङ’ को सजिलो काम हुने र मासिक २२ सय दिराम -करिब ६६ हजार रुपैयाँ) कमिने बताए । ‘त्यसो भए ठीकै छ भन्ने लाग्यो,’ उनले भनिन्, ‘श्रीमान्ले पनि दुई वर्ष जाऊ न त, ऋण पनि तिरिन्छ भन्नुभयो ।’ सीताका श्रीमान् इन्द्र रिक्सा चलाउँँछन् । सीताका बुवाले उनीहरूलाई एकतले पक्की घर बनाइदिएका थिए । उनीहरूलाई तला थपेर कुखुरा पाल्न पाए कमाइ हुन्थ्यो भन्ने लाग्यो । तला त थपे, कुखुरा पाल्न सकेनन् । उल्टो ऋण पाँच लाख रुपैयाँभन्दा बढी पुग्यो । ब्याज बढदै गयो । दुई जनाको कमाइ खान-लाउन र बालबच्चा पढाउन ठिक्क हुन्थ्यो । ‘दुई वर्ष विदेशमा दुःख गर्न पाए ऋण तिरिन्थ्यो भन्ने ठानें,’ उनले भनिन्, ‘र, आउन तयार भएँ ।’ उनका अनुसार दिलसराले सँगै गाडीमा राखेर काठमाडौं लगिन् । त्यहाँ तुलसी कुरिरहेका थिए । उनले दुबईमा फोन गरे । दुबईको एयरपोर्टमा सुजन क्षत्री लिन आउने कुरा भयो । त्यही टोलीमा अरू चार महिला पनि रहेछन् । पर्यटक भिसामा उडदा नेपालको अध्यागमनले साथमा डलर खोज्छ । त्यही भएर होला, उनीहरूलाई एक-एक लाख रुपैयाँको डलर साटेर बोकाइयो । ‘कसैले सोधे भने श्रीमान् उतै हुनुहुन्छ, भेट्न जान लागेको भन्नु भनेर सिकाए,’ उनले सुनाइन्, ‘दुबईमा उत्रिएर निस्कनासाथ सुजन भेटिए । उनले पैसा, पासपोर्ट र अरू कागजपत्र मागे । अनि, हामीलाई बस्ने ठाउँमा पुर्‍याए । त्यो ठाउँ बाख्राको खोरजत्तिकै थियो ।’ एउटा सानो कोठामा १५/१६ जना महिला कोचिएका थिए । त्यसैमा थपिए ती पाँचै जना । दिउँसो सुजनको अफिसमा लगेर लस्करै राख्थे । त्यहाँ छान्ने व्यक्तिहरू आउँथे, मानौं उनीहरू बेच्न राखिएका भेडा-बाख्रा हुन् । कसैले कसलाई मन पराउँथे, कसैले कसलाई । मन पर्‍यो भने सुजनसँग कागज गर्थे, लिएर जान्थे । झन्डै एक सातापछि एउटी अरबी महिला आइन् । उनले सीतालाई सोधिन्, ‘कपडामा आइरन गर्न आउँछ ?’ उनले सिलाइ-कटाइको काम गरेको बताएपछि लान राजी भइन् । ‘मलाई टेलरिङमै लाने भए भन्ने लागेको थियो,’ उनले त्यो दिन सम्भिmइन्, ‘भरे त घरको काम गराउन पो लगेकी रहिछन् । तुलसीले २२ सय तलब हुन्छ भनेका थिए, जम्मा ९ सय दिने कुरा गरिन् । तैपनि उपाय केही थिएन । स्वीकारेर बसें । लगाएको काम गरें ।’ त्यस घरमा काम गरेको तीन महिना पुगेको थियो । उनी काठको टुलमाथि चढेर सिलिङको पंखा पुछदै थिइन्, टुल लड्यो । उनी भुईंमा पछारिइन् । साहुनीले अस्पताल लगिन् । हात भाँचिएछ । उपचार गराइन् । निको भएपछि भनिन्, ‘अब तेरो हात बल्झिइरहन्छ, घरै जा ।’ नभन्दै भोलिपल्ट सुजनको अफिसमा पुर्‍याइदिइन् । काम गरेको पैसाचाहिँ दिइन् । ‘सुजनले घर के जानुहुन्छ, ओमन जानुहोस्, झन् राम्रो काम हुन्छ, पैसा पनि बढी आउँछ भनेर फकाए,’ उनले भनिन्, ‘पैसा कमाउन आएको, ठीकै छ जस्तो लाग्यो र मानें ।’ उनले सारजहा लगेर एक जना भारतीयको जिम्मा लगाई ओमन पठाइदिए । त्यहाँ सुरुमा एउटा अफिसमा लगे । उसरी नै छान्ने मान्छे बोलाए । एक जनाले घरमा लग्यो । त्यहाँ उनले दुई महिना काम गरिन् । लाने व्यक्तिले पैसै दिएन । बरु हातपातको प्रयास गर्‍यो । ‘नराम्रो काम गर्न भन्यो । धेरै मान्छे आउने, समाउन खोज्ने गर्न थाले,’ उनले भनिन्, ‘अवस्था खराब देखेपछि रातारात भागेर अफिसमा पुगें ।’ शरणका लागि पुगेकी उनलाई अफिसमा बस्ने व्यक्ति कुरा सुन्नासाथ आक्रोशित भयो । ‘उसले मेरा हातखुट्टै बाँध्यो । सलले मुख पनि बाँधिदियो । अग्लो बुट लगायो । र, कानैकानमा बजार्‍यो । मेरो मुख, नाक र कानबाट ह्वालह्वाल रगत बग्यो । पेटमा, छातीमा र सबैतिर लात्तले हान्यो । मरी भनेर बाँधेको बाँध्यै छाडिदियो,’ धरधरी रुँदै उनले भनिन्, ‘तर म मरिनँ । एक हप्ताभन्दा बढीसम्म पानीसम्म खान नदिई त्यही दाम्लामा राख्यो ।’ त्यही व्यक्तिको ‘हाउसमेड’ का रूपमा एउटी भारतीय महिला काम गर्थिन् । उनले अर्को दिन सीतालाई मार्ने तयारी भएको सुनिछन् । मध्यराति आएर भनिछन्, ‘तिमीलाई मार्ने कुरा गर्दै थियो । तुरुन्त भाग ।’ उनैले दाम्लो खोलिदिइन् । गेट खोलिदिइन् । र, सडकमा पुर्‍याएर फर्किइन् । यातनाले थिलथिलो भएको कयौं दिनको भोको शरीर सासको भिख माग्दै हतार-हतार अघि बढिरह्यो । केही घण्टा हिँडेपछि उनका पाइला रोकिए । त्यहीँ ढलिन् । ‘संसारमा राक्षस मात्र होइन, भगवान् पनि हुँदा रहेछन्,’ उनले भनिन्, ‘एक जना इन्डियन अपांग बाबा आए । उनले नेपाली हो भनेर सोधे । मैले हो भनें । मेरोमा हिँड, म उपचार गरिदिन्छु भने ।’ उनी गइन् । उनले उपचार गराइदिए । अलि निको भएपछि घरायसी काम लगाए । दुई महिनाको तलब उपचारमा कटाए । पाँच महिना भएपछि तीन महिनाको तलब दिए । र भने, ‘मेरो कामदार राख्ने हैसियत छैन । अब जाऊ ।’ उनले सडकमा पुर्‍याए । दुई सय रियाल बाटा खर्चसमेत थपिदिए । र, त्यहीं छाडिदिए । उनी रुँदै बसिन् । एउटा गाडीवालाले भेट्टायो । बिचल्ली देखेर नेपाली दूतावास पुर्‍याइदियो । ओमनको कुन ठाउँ थिइन्, उनलाई थाहा छैन । तर, यति थाहा छ- बेलुका ४ बजे गाडी चढेको दूतावास आइपुग्दा बिहान उज्यालो भएको थियो । ‘पर्दैन भन्दै थियो,’ उनले भनिन्, ‘पाप लाग्छ भनेर मसँग भएको २ सय त्यसैलाई दिएँ ।’ उनी दूतावासको सहारामा छिन् । उनलाई फर्किएर चाँडोभन्दा चाँडो घर पुग्न हतारो छ । तर, साथमा न टिकट काट्ने पैसा छ, न ओमनको कानुनअनुसार फुत्त उड्न मिल्छ । कार्यवाहक राजदूत रोजिना ताम्राकारका अनुसार जस्तै समस्यामा परे पनि ‘स्पोन्सर’ (लैजाने स्थानीय व्यक्ति) को सहमतिबिना फिर्ता पठाउन मिल्दैन । ‘सकेसम्म स्पोन्सर खोजेर सहमति मागिनेछ,’ उनले भनिन्, ‘नमानेको खण्डमा श्रम अदालत जानुपर्ने हुन्छ । अदालत गए प्रक्रिया निकै लम्बिन सक्छ ।’ सीताका छोराले यसपालि एसएलसी दिए । छोरी १० वर्ष लागिन् । ‘चार जनाको परिवार कति सुख-शान्तिले बाँचेका थियौं,’ उनले आँसु पुछदै भनिन्, ‘दलालको भर परेर यो हालत भयो । कसैले फकाएको भरमा कुनै दिदी-बहिनी विदेश नआउनू । मेरै हालत होला ।’ ऋण तिर्ने पैसा कमाउन आएकी उनले दुबईमा कमाएको तीन महिनाको २ हजार ७ सय दिराम (करिब ८१ हजार रुपैयाँ) घर पठाउनै पाएकी थिइनन् । ‘त्यो पैसा, औंठी र कानको रिङ त्यही कुट्ने अफिसमा राखेको छ,’ कार्यवाहक राजदूतसँग भनिन्, ‘कसरी हुन्छ, झिकाइदिनुपर्‍यो ।’ साभार कान्तिपुर/अखण्ड भण्डारी

0 comments

Write Down Your Responses