दसगजामा पुगेर राजेन्द्र महतोले यस्तो भने -‘ओलीसित लभ पर्लापर्ला जस्तो भाथ्यो तर बिचैमा टुट्यो
सप्तरी,१६ साउन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले दसगजामा दुईदेशको सहमति बिना कुनै पनि संरचना निर्माण गर्न नहुने बताएका छन् । भारतले एकतर्फी रुपमा दसगजा मिचेर बाँध बनाउन थालेपछि नेपाली र भारतीयबीच झडप भएको सप्तरीको तिलाठी नजिकको विवादित बाँधस्थलमा आइतबार पुगेका महतोले सञ्चारकर्मीसित कुरा गर्दै भने, ‘सीमामा दुईदेशको सहमति बिना कुनै काम गर्नु हुँदैन । पार्टीका दुई वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव र नवलकिशोर साह तथा एक दर्जन केन्द्रीय सदस्य सहित कार्यकर्ताको समुह लिएर दसगजा पुगेका महतोले नेपाल सरकारको गैर जिम्मेवारीपनका कारण दसगजामा झडप भएको आरोप लगाए । उनले भने, ‘जनता दसगजामा सीमा रक्षार्थ टाउको फोडाउँदै छन्, सरकार भने कुर्सी खोसियो भन्ने चिन्तामा बेहोस छ ।’ दसगजामा बाँध निर्माणको विषय विगत लामो समयदेखि विवादित रहँदै आएपनि राज्यले कुटनीतिकस्तरमा समाधान गर्न नसक्नु, आवश्यक समयमा पहल गर्न नसक्नु तथा राज्यका निकायहरु गैर जिम्मेवार हुनुले समस्या बढदै गएको उनले बताए । ‘सरकार जिम्मेवार नहुँदा दसगजामा झडप भयो, बेटीरोटीको सम्बन्ध खराब गर्न नेपाली र भारतीयलाई एक आपसमा लडाउन सरकार लागेको छ,’ महतोले भने, ‘मामाले भान्जालाई भान्जाले मामालाई टाउको फोडने स्थिति सरकारी गैर जिम्मेवारीपनाका कारण भएको हो ।’ नेपाल सरकार मधेसीप्रति दुराग्रहपूर्ण भावनाले ग्रसित भएको बताए । महतोले भने, ‘जसको परिणाम तिलाठीको दसगजामा देखियो,समय छँदै समस्या समाधान नगर्ने अनि जनतालाई मर्न पठाउने ।’ राजनैतिक विषयमा बोल्दै केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कांग्रेस, माओवादी केन्द्रको गठबन्धनले सहयोग नमागेको भएपनि आफूहरु अविश्वासकै पक्षमा मतदान गर्ने सोच पहिले बनाइसकेको खुलाए । ‘केपीओली मधेस विरोधी हुने, मधेस माग्दा युपी बिहार देखाउँछन् त्यस्ताको सरकार ढाल्न त हामीले चाहेकै हो,’ महतोले भने, ुसरकारको विपक्षमा उभिएको गठबन्धनलाई त्यही भएर त्यतिबेला सहयोग गरेका हौं ।’ आफूहरु कांग्रेस माओवादी गठबन्धनको सरकारमा सामेल नहुने उनले स्पष्ट पारे । प्रधानमन्त्री ओलीप्रति व्यंग्य गर्दै महतोले भने, ‘सुरुसुरुमा त मधेसको समस्या समाधान गर्छु भन्दै मलाई पनि मधेसबाट ओलीले काठमाडौं बोलाउँदा उनीसित लभ पर्ला जस्तो भाथ्यो । तर उनी त मधेसको समस्या समाधान गर्न टसमस भएनन् अनि पर्लापर्ला जस्तो भएको लभ टुट्यो ।’ महतो पार्टीका तर्फबाट बाढी पीडितका लागि राहत समाग्री लिएर सप्तरी आएका हुन् । उनले जिल्लाका दक्षिणवर्ती बाढी प्रभावित गाविसहरुको आइतबार निरीक्षण गरेका छन् ।

0 comments
Write Down Your Responses