राप्तीको बाढीमा फसेका ६ सयलाई सेनाको हेलिकोप्टरद्धारा उद्धार

काठमाडौं, साउन १३- सोमबारदेखि परिरहेको अविरल झरिपछि आएको बाढी र पहिरोले राप्ती अञ्चलमा बुधबार ११ को मृत्यु भएको छ भने चार बेपत्ता छन् । राप्ती नदीको बाढीमा फसेका होलिया गाविस–२ छोट्की चौफेरीका करिब ७० वर्षीय दुब्बर अहिरलाई बाँच्ने आशा एकदमै झिनो थियो । मंगलबार आएको बाढीले उनीहरूको घर डुब्यो । ६ जनाको परिवार अटियामा बसेर ज्यान जोगाए । पूरै घर पानी नै पानी भएपछि दिसा, पिसाब त्यही अटियामा गरेको अहिरले बताए । ‘कतै जाने ठाउँ नभएपछि बसेको ठाउँमै दिसा, पिसाब ग-यौँ,’ उनले भने, ‘मेरो मनमा बाँच्ने आशा त मरिसकेको थियो,’ उद्धारपछि अहिरले भने । अहिरको परिवारसहित राप्ती नदीमा फसेका होलिया-२ छोट्की चौफेरी, सेम्रहाना र चौफेरीका ६ सय नौजनाको सेनाले हेलिकोप्टरबाट उद्धार गरेको छ । मंगलबार पाँच सयको उद्धार गरिएको थियो । डुंगा र रबर बोटले उद्धार गर्न कठिन भएपछि हेलिकोप्टर प्रयोग गरिएको बाँकेका सिडिओ रविलाल पन्थले बताए ।

0 comments

Write Down Your Responses