पोखरा बाट प्रधानमन्त्री केपी ओलीको आहवान -अब कालो टालो होइन, राष्ट्रको झण्डा हल्लाउनुस् पोखरालाई आजै राम्रोसित हेर्नुस्, भोलि चिन्नुहुन्न
१ वैशाख, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न माग राखेर सडक आन्दोलनमा उत्रेकाहरुलाई आन्दोलन छाडेर विकास अभियानमा संलग्न हुन आह्वान गरेका छन् । पोखरा विमानस्थलको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार नयाँ वर्षको पहिलो दिन ‘रन वे’मा उँभिएको र अब यसको गतिलाई कसैले रोक्न नसक्ने दावी गरे विमानस्थल बन्न लागेकोमा पोखरेली जनतालाई बधाई दिँदै प्रधानमन्त्रीले यस ठाउँको विकास अगाडि बढ्ने भरपर्दो आधार अगाडि बढेको बताए ।
चार वर्षमा विमानस्थल तयार उनले भने, ‘म प्रधानमन्त्री भएको सुन्नेबित्तिकै अब पोखरा एयरपोर्ट बन्छ भन्ने तपाईंहरुलाई लागेको थियो होला । अवश्य लागेको हुनुपर्छ । कसैलाई लागेको थिएन भने अब लाग्ने छ । शिलान्यास भइसक्यो । चार वर्षभित्र तयार हुनेछ । ७७ सालको वैशाखमा म विमानस्थल उदघाटन समारोहमा सामेल हुन सक्छु ।’ ओलीले निर्धारित समयमा नै निर्माण पूरा गर्न चिनियाँ निर्माण कम्पनीलाई आग्रह गर्दै सरकार र राजनीतिक दलहरुको तर्फबाट सक्दो सहयोग गर्ने बताए । प्रधानमन्त्री ओलीले तराईमा आन्दोलन गर्ने चेतावनी दिइरहेका दलहरुलाई लक्षित गर्दै भने, ‘अब आन्दोलन केका लागि ? बरु बाटो बनाउन, स्कुल बनाउन, हस्पिटल बनाउन साथ दिनुस् । अब कालो टालो हल्लाएर हिँड्नुको अर्थ छैन, राष्ट्रिय झण्डा बोक्नुस् ।’ पोखराले मुहार फेर्न लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘आजको पोखरालाई राम्ररी हेर्नुस्, नत्र भोलि यसले रुप फेरेपछि चिन्नुहुन्न ।’

0 comments
Write Down Your Responses