पाँच सय गाँउले जम्मा गरेर अमेरिकी नागरिकले गरे नेपाली परम्पराअनुसार विवाह

गोरखा, ३ वैशाख । भूकम्पले ध्वस्त गोरखाको बुङ्कोटस्थित रामेश्वरी माध्यामिक विद्यालय पुनःनिर्माणमा सघाउँदै आएका एक अमेरिकी नागरिकले नेपाली परम्परा (हिन्दू संस्कार) अनुसार विवाह गरेका छन् । अमेरिकास्थित क्यालिफोर्निया राज्यका ५५ वर्षीय डानियल र ४९ वर्षीया लीलाबीच विवाह भएको हो । डानियल क्रिश्चियन धर्म मान्छन् भने लीला हिन्दू धर्मावलम्वी हुन् । गाउँलेहरु दुलही पक्ष र दुलाह पक्षमा विभाजित हुँदै जन्ती आएका थिए । स्थानीय बाबुराम वाग्लेको घरबाट दुलाह, दुलही बाजागाजासहित मन्दिर पुगेका हुन् । पुरोहितले भनेअनुसार उनीहरु विवाह मण्डपमा बसे र शास्त्रअनुसार विवाह बन्धनमा बाँधिए । बुङ्कोट–९ मैलुङस्थित सरस्वती मन्दिर परिसरमा आजै ध्वजा, पटका टाँगिएको जग्गेमा उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् । विवाहमा पाँच सय भन्दा बढी गाउँले भेला भएका थिए । भोजभतेरको पनि व्यवस्था गरिएको थियो । विदेशीले नेपाली परम्पराअनुसार विवाह गर्न जुटेपछि हेर्नेको घुइँचो लागेको थियो । विवाहको चाँजोपाँजो गर्ने व्यवस्था शिवशक्ति भजन समूहले मिलाएको हो । पुनःनिर्माणमा सघाउँदै आएको पार्मोनियर फाउन्डेसन नेपालका गौतम वाग्ले र चेत भट्टको संयोजनमा उनीहरुको विवाह सम्भव भएको हो । वाग्लेका अनुसार डानियल र लीलाले यसअघि नै ‘लभ’ गरेर विवाह गरे पनि लीलाको आग्रहमा हिन्दू धर्म, परम्पराअनुसार पुनःविवाह गरिएको हो । लीला भारतीयमूलकी मलेसियन नागरिक हुन् ।

0 comments

Write Down Your Responses