भक्तपुरमा बस दुर्घटना चालकसहित २३ घाइते

चाँगुनारायण–भक्तपुर–काठमाडौँ रत्नपार्क रुटमा चल्ने बा २ ख ६८१७ नम्बरको दुर्घटनाग्रस्त बस । तस्बिर सौजन्यः प्रमोद न्यौपाने भक्तपुरः काठमाडौंबाट भक्तपुर हुँदै चाँगुनारायण जाँदै गरेको यात्रु बस मंगलबार दुर्घटना हुँदा चालकसहित २३ जना घाइते भएका छन् । चाँगुनारायण–भक्तपुर–काठमाडौँ रत्नपार्क रुटमा चल्ने बा २ ख ६८१७ नम्बरको बस चाँगुनारायण नपा ९ बुढाथोकी गाउँमा सडकबाट डेढसय मिटर तल खसेर दुर्घटना भएको हो । महानगरीय प्रहरी प्रभाग चाँगुका प्रहरी सहायक निरीक्षक (असई) प्रभु कार्कीका अनुसार सोमबार राती परेको अविरल वर्षाले लच्किएको बाटो हुँदै अघि बढ्दा बस चिप्लिएर दुर्घटना भएको हो । उनले सडकबाट डेढसय मिटर तल खसेको बस रुखमा अल्झिएकाले धेरै मानिसको हताहती हुन नपाएको जानकारी दिए । दुर्घटनालगत्तै प्रहरी र स्थानीय वासिन्दाले बसमा सवारको उद्धार गरेका थिए। दुर्घटनामा घाइतेलाई तत्काल उपचारको लागि भक्तपुर अस्पताल पुर्याइएको छ । भक्तपुर अस्पताल पुर्याइएकामध्ये गम्भीर घाइते नौजनालाई मध्यपुर थिमीको शंखधर चोकस्थित मध्यपुर अस्पतालमा रिफर गरिएको छ । घाइतेमध्ये अधिकांश चाँगुनारायण खोरियास्थित तामांग बस्तीका बढी परेका छन् । बसमा पचासभन्दखा बढी यात्रु सवार रहेको महानगरीय प्रहरी प्रभाग चाँगुले जनाएको छ । प्रभागका अनुसार स्थानीय वासिन्दाले वर्षाले बाटो लच्किएकाले खतरा संकेतको रुपमा ढुंगा हालेका थिए । तर बसका चालकले झुक्किएर लच्किएको बाटोतर्फ बस अघि बढाएपछि बाटो भास्सिएर बस सडकबाट पल्टिन पुगेको प्रभागका असई कार्कीले जानकारी दिए । -अपडेट

0 comments

Write Down Your Responses