राजविराज, १४ साउन - सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाएको बाँध नेपालीहरुले भत्काइदिएका छन्। भारतीय पक्षले नेपाली पक्षसँग समन्वय नै नगरी खाडो नदीमा बाँध बनाउन थालेपछि स्थानीय विरोध उत्रिँदा बिहीबार दिनभर तनाव सिर्जना भएको छ। दुबै पक्ष बाँसको भोटा बोकेर नदी क्षेत्रमा पुगे । नेपाली पक्षले नदी थुन्न बोराहरु राखेर बनाएको बाँध भत्काउँदा सीमापारी कुनौलीका वासिन्दा जाइलाग्न आएका थिए। त्यसक्रममा सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा गर्दै झडप भएको छ। झडपमा तीन नेपाली घाइते भएका छन्। झडपमा तिलाठी निवासी पूर्व जिविस सदस्य देवनारायण यादव र रोशनकुमार झालाई टाउकोमा चोट लागेको छ। सीमा क्षेत्रका वासिन्दाबीच ढुंगा हानाहान भएको छ। नेपालीहरुले बिहानैदेखि बाँध भत्काउन गए पनि भारतीय पक्षका बासिन्दा धेरैभएपछि त्यत्तिकै फर्केका थिए । दिउँसो नेपाली पक्षको संख्या धेरैभएपछि बाँधमा राखिएको बाँस, बालुवाको बोरा झिकेर फालिदएका छन्। घटनास्थलमा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमसहित सुरक्षा प्रमुखहरु पुगेका थिए। भारतीय पक्षपट्टी पनि सुरक्षा अधिकारी आएका थिए। स्थानीयका अनुसार गत शनिबारदेखि भारतीय पक्षले एकतर्फी बाँध निर्माण गरेको थियो। भारतले नेपाल-भारत सीमा स्तम्भलाई आफ्नो भूमिभित्र पारेर बाँस तथा बोरामा भरिएका गिट्टी प्रयोग गरी बाँध बाँधेको छ। यो बाँध निर्माण भए नेपालतर्फ खाँडो खोला र वर्षाको पानीको निकास थुनिनेछ। र, तिलाठी, रम्पुरा मल्हनिया, सकरपुरा, विषरिहया, कोइलाडी, बरसाइन, हनुमाननगर लगायतका गाविस डुबानमा पर्ने भएपछि स्थानीय आक्रोशित छन्।

0 comments
Write Down Your Responses