कांग्रेस सांसद अमरेशकुमार सिंहलाई तत्काल देश निकाला गर्न माग तुरुन्त पक्राउ गरी जेल हाल्नुपर्छ-युवा संघ
काठमाडौं, ८ साउन । प्रधानमन्त्रीलाई ‘मानसिक सन्तुलन गुमाएको’ भन्ने नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहलाई देशनिकाला गर्न माग उठेको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल देश निकाला गर्न माग गरेको हो । ‘सिंहले जनताको सर्वाेच्च संस्था संसदमा सम्माननीय प्रधानमन्त्रीको अपमान गरेका छन्’ अनेरास्ववियका सचिव आरसी लामिछानेले भनेका छन्- ‘भारतीय एजेन्ट अमरेश सिंहले संसदमा दिएको अभिब्यक्तिप्रति खेद व्यक्त गर्दछौं । सिंहलाई तत्काल देश निकाला गर्न माग गर्दछौं ।’ तुरुन्त कारवाही गर्न युवा संघको माग यसैबीच युवा संघ नेपालले पनी कांग्रेस सांसद अमरेशकुमार सिंहलाई तुरुन्त कारवाही गर्न माग गरेको छ । युवा संघका प्रवक्ता प्रभातविक्रम कटवालले राष्ट्रिय हितविपरित र संविधान विपरित बोल्ने सिंहलाई पक्राउ गरेर जेल हाल्नुपर्ने बताए । उनले भने– ‘प्रधानमन्त्रीलाई ‘मानसिक सन्तुलन गुमाएको’ आक्षेप कुन आधारमा लगाइयो । मानसिक सन्तुलन गुमाएको कुन डाक्टरले भन्यो । पुष्टि गर्नुपर्यो । होइन् भन्ने जे मन लाग्यो त्यो बोल्ने अधिकार कसैलाई छैन् । सिंहलाई तुरुन्त पक्राउ गरी जेल हाल्नुपर्छ ।’ सांसद सिंहले शनिबार संसदको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मानसिक सन्तुलन गुमाएको’ भनेका थिए । त्यसलगत्तै संसदमा एमालेका सांसदहरुले नियमापत्ती जनाएका थिए ।

0 comments
Write Down Your Responses