जापानमा २४ घन्टामा भूकम्पका २१ झट्का, २९ को मृत्यु
एजेन्सी: दक्षिणी जापानमा पछिल्लो २४ घन्टामा २१ वटा भूकम्पका झट्का महसुस भएको छ। आज आएको भूकम्पमा परि कम्तिमा ७ जनाको ज्यान गएको छ । अन्य दर्जनौं व्यक्ति भत्किएका घरका संरचनामा पुरिएका छन् । शुक्रबार राति गएको भूकम्प ७.४ म्याग्निच्यूड मापन गरिएको छ । यो भूकम्पको केन्द्र कुमामोतोमा जमीनबाट ७ किलोमिटर भित्र रहेको थियो । यसकासाथै दुई दिनमा भूकम्पबाट जापानमा मर्नेको संख्या २९ पुगेको छ । दक्षिणी पश्चिमी द्वीप क्यासुमा भूकम्प आएपछि विध्वंश मच्चाइरहेको छ। त्यहाँ २४ घन्टायता लगातार भूकम्पको महसुस भइरहेको छ । बिहीबार आएको भूकम्पका कारण मानिसहरु त्यहाँ आतंकित थिए । शक्तिशाली भूकम्पका कारण ठूलो ठूलो पहिरो गएको छ । भूकम्पले जापानको एक इलाकामा राजमार्ग पूरै ध्वस्त बनाएको छ ।
यसभन्दा अघि आएको भूकम्पले चर्किएका घरहरु दोस्रो शक्तिशाली भूकम्पका कारण जमिनमा मिलेका छन् । भूकम्पको केन्द्र कुमामोतो प्रान्तमा थियो । भूकम्पपछि यो क्षेत्रमा एक सक्रिय ज्वालामुखी पनि शनिबारबाट सक्रिय भएको छ । स्थानीय सरकारी अधिकारीले भने ज्वालामुखी पुन: सक्रिय भएको कारण भूकम्प या अन्य भन्ने खुल्न नसकेको जनाएका छन् । कुमामातो प्रान्तसँग जोडिएका एक अधिकारीले बताए अनुसार शनिबारमात्रै सातजनाको ज्यान गएको छ । उनले पुलिस र दमकल विभागका अधिकारीलाई उधृत गर्दै यो जानकारी दिएका हुन् । यसैबीच सरकारी प्रसारणकर्ता एनएचकेले आजको भूकम्पमा मारिनेको संख्या नौ पुगेको जनाएको छ । यो भूकम्पबाट करिब ७६० जना घाइते भएको जनाइएको छ । एक सरकारी प्रवक्ताले अहिले पनि सयौं मानिस भत्केको घरमुनि अड्किरहेको जनाएका छन् । पहिरो खसेको मिनामी आसोमा एक क्षतिग्रस्त घरमा ११ जना मानिस फसेको अनुमान गरिएको छ । कुमामातो प्रान्तका एक अन्य अधिकारीले बताए अनुसार यसबारेमा आफूलाई जानकारी रहेको छैन । यसैबीच यात्शुशिराओ शहरस्थित बस्तीमा आगो लाग्दा एकजनाको ज्यान गएको छ। शहरका अधिकारी किचिरू तेरादाले यस घटनाको पुष्टि गरे ।


0 comments
Write Down Your Responses