थानकोट—चन्द्रागिरि केबुलकार परीक्षण नयाँ वर्षमा

चैत्र २९, २०७२- नयाँ वर्षमा थानकोट–चन्द्रागिरिमा केबुलकार परीक्षण सञ्चालन हुने भएको छ । भूकम्प र नाकाबन्दीको असर छिचोल्दै केबुलकारको परीक्षण सञ्चालन वैशाख १ देखि हुन लागेको हो । ‘व्यावसायिक सञ्चालन केही दिनपछि गर्ने छौं,’ फनपार्क प्रालिका परियोजना महाप्रबन्धक अभिषेक शाहले भने, ‘नयाँ वर्षसँगै राजधानीका बासिन्दालाई विशेष उपहार दिने तयारीमा जुटेका छौं ।’ नयाँ वर्षको सुरुवातमा राजधानीका बासिन्दा केबुलकारमार्फत ८ मिनेटमा चन्द्रागिरि पुग्ने छन् । मुलुकको संक्रमणकाल, भूकम्प र नाकाबन्दीले यसको निर्माण १ वर्ष ढिला भयो । काठमाडांै फनपार्क प्रालिले १९ महिनाअघि केबुलकार निर्माण कार्य सुरु गरेको थियो । नयाँ वर्ष २०७२ को अवसर पारेर नेपालीलाई उपहार दिने लक्ष्यसहित परियोजना अघि बढाएको भए पनि भूकम्प र नाकाबन्दीले १ वर्ष ढिला भएको हो । ‘गत वर्ष नै सञ्चालनमा ल्याउने लक्ष्य लिएर काम गरिरहेका थियौं,’ महाप्रबन्धक शाहले भने भने, ‘सुरुमा गिटी, बालुवा अभाव भयो । पछि भूकम्प र नाकाबन्दीले १ वर्ष धकेलियो ।’ टप स्टेसन, बटम स्टेसन र टावर निर्माणका काम सम्पन्न भइसकेका छन् । ‘केबुलकारको तार तान्ने काम पनि सकिसकेको छ । तारमा गोन्डोला (क्याबिन) जडान गर्ने कार्य भइरहेको शाहले जनाए । उनले भने, ‘२/३ दिनभित्रमा गोन्डोला जडान गर्ने काम सकिन्छ ।’ १९ गोन्डोला जडान गरिने छ । तार तान्न र गोन्डोला जडान गर्न अस्ट्रियाबाट प्राविधिक आएका छन् । केबुलकारको टप स्टेसन चन्द्रागिरि डाँडामा स्वच्छन्द निर्माण सेवा र बटम स्टेसन थानकोटमा सीई कन्स्ट्रक्सनले निर्माण कार्य गरेको हो । सिंगापुर र अस्ट्रियाको डुअल मेयर कम्पनीबाट केबुलकार लगायतका उपकरण आयात गरेर निर्माण गरिएको हो । डाँडामा भालेश्वर महादेवको मन्दिर र दृश्यावलोकन भ्युटावर निर्माण कार्य भइसकेको छ । इच्छेश्वर मन्दिरमा बिहीबार गजुर राख्ने काम पनि सकिएको छ । थानकोटबाट चन्द्रागिरि साढे २ किलोमिटरमा केबुलकारका ११ वटा टावरहरू निर्माण गरिएका छन् । केबुलकारमार्फत ८ मिनेटमा थानकोटबाट चन्द्रागिरि डाँडामा पुगिन्छ । थानकोटबाट चन्द्रागिरि हिँडेर जानका लागि साढे २ घण्टा लाग्छ । थानकोटदेखि चन्द्रागिरि डाँडासम्मको साढे २ किलोमिटरको दूरीमा अहिले १९ वटा क्याबिन (गोन्डोला) राखिने छ । आवश्यक परेमा ३८ वटा गोन्डोला राख्ने क्षमताको हुने छ परियोजना महाप्रबन्धक शाहले भने । ‘एउटा क्याबिनमा ८ जना अट्ने क्षमता हुन्छ ।’ प्रतिघण्टा एक हजार जना यात्रुहरू आवत–जावत गर्ने क्षमताको उक्त केबुलकार हुने छ । यात्रुहरूको चाप बढ्यो भने ३८ वटासम्म क्याबिन जडान गर्न सकिने छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणपूर्व इच्छेश्वर महादेवको दर्शन गरेपश्चात काठमाडौंमा विजय प्राप्त गरेका थिए । जीर्ण अवस्थामा रहेको उक्त ऐतिहासिक मन्दिरको आकर्षक ढंगले निर्माण कार्य गरेको हो । वार्षिक ५ लाख पर्यटकलाई चन्द्रागिरि डाँडामा लैजाने उद्देश्यका साथ उक्त प्रालिले केबुलकारको निर्माणसँगसँगै चन्द्रागिरिमा सुविधायुक्त रिसोर्टको पनि निर्माण कार्य सुरु गरेको छ । प्रालिले बटम स्टेसन थानकोटमा फनपार्क र चन्द्रागिरिमा तीनतारे होटल निर्माण गर्दै छ । यी दुई परियोजना २०७३ सम्म सम्पन्न गरिसक्ने लक्ष्य रहेको छ । कम्पनीले सय रोपनी जग्गा खरिद गरेर बटम स्टेसनको निर्माण गरेको हो भने चन्द्रागिरि डाँडामा ७ सय २० रोपनी जमिन सरकारसँग ४० वर्षका निम्ति भाडामा लिएको छ । करिब ३ अर्बको लगानीमा उक्त कम्पनीले केबुलकार, फनपार्क, होटल र मन्दिर निर्माण गर्न लागेको हो । आईएमई समूह, भाटभटेनी, अम्बिका पौडेल, चन्द्र ढकाल, उमा विष्टलगायतको लगानीमा निर्माण गर्न लागेको हो । सिटिजन्स बैंक इन्टर नेसनलको अगुवाइमा ६ वटा बैंकहरूले ऋण लगानी गरेका छन् । त्रिभुवन राजपथ बन्नुअघि चित्लाङ–चन्द्रागिरि र थानकोट उपत्यका प्रवेश गर्ने मुख्य प्रवेशद्वार हो ।

0 comments

Write Down Your Responses